• Tuesday, March 10, 2026

जेन–जी आन्दोलनका क्षतिमा ५ अर्ब ४८ करोडभन्दा बढी बीमा दाबी भुक्तानी


जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका भौतिक तथा अन्य क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेको बीमा दाबीबापत हालसम्म ५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीका अनुसार आन्दोलनको अवधिमा निजी तथा सार्वजनिक सम्पत्ति, सवारी साधन, उद्योग, व्यापारिक संरचना, निर्माणाधीन आयोजनालगायतमा भएको क्षतिबाट कुल २३ अर्ब ४७ करोड रुपैयाँ बराबरका ३ हजार ३१६ वटा बीमा दाबी दर्ता भएका थिए । ती दाबीमध्ये हालसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको उनले जानकारी दिए ।

प्राधिकरणमा प्राप्त अद्यावधिक विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमार्फत दाबी प्रक्रिया अघि बढाइएको हो, जसअन्तर्गत बीमितको तत्कालीन समस्यालाई मध्यनजर गर्दै अग्रिम भुक्तानी समेत गरी रकम भुक्तानी गरिएको सुवेदीले बताए । कूल दाबी रकममध्ये सबैभन्दा ठूलो हिस्सा सम्पत्ति बीमातर्फ देखिएको छ, जहाँ ७१२ वटा बीमा दाबीमार्फत करिब १९ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षतिको मूल्यांकन गरिएकोमा हालसम्म करिब ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । त्यसैगरी, मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा दाबीमार्फत करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेकोमा करिब १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी गरिएको छ, जसले आन्दोलनका क्रममा सवारी साधनमा भएको क्षति उल्लेखनीय रहेको देखाउँछ ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२६ वटा बीमा दाबीमार्फत करिब ५५ करोड ३९ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म करिब ८ करोड ३६ लाख रुपैयाँ भुक्तानी भएको छ भने परिवहन बीमातर्फ १२ वटा बीमा दाबीमार्फत करिब १ करोड ६९ लाख रुपैयाँ बराबरको दाबीमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । यसैगरी, अन्य बीमातर्फ ४५ वटा बीमा दाबीमार्फत करिब ३८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेकोमा करिब ५ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित दाबी भुक्तानी भएको विवरण सार्वजनिक गरिएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन पुनर्बीमा व्यवस्थाले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको सुवेदीले जानकारी दिए । नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबी दर्ता भएका छन्, जसको कूल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ पुगेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको कार्यकारी निर्देशक सुवेदीले बताए । बीमा प्राधिकरणका अनुसार दाबी मूल्यांकन, कागजात संकलन र क्षति प्रमाणीकरणको प्रक्रिया निरन्तर जारी रहेकाले आगामी दिनमा थप भुक्तानी हुने अपेक्षा गरिएको छ । आन्दोलनजस्ता असामान्य परिस्थितिमा बीमाले वित्तीय जोखिम न्यूनीकरणमा खेलेको भूमिकाले बीमा प्रणालीको महत्व उजागर गरेको भन्दै प्राधिकरणले बीमितहरूलाई दाबी प्रक्रियामा सहजीकरण गर्ने र बीमा कम्पनीहरूलाई समयमै भुक्तानी गर्न निर्देशन दिइरहेको जनाएको छ ।

Please Login to comment in the post!

you may also like