• Tuesday, March 10, 2026

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकियो : विकट क्षेत्रमा ३३ लाख, काठमाडौँ–१,३,६,७,८ मा २५ लाख मात्र


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने अधिकतम चुनावी खर्चको सीमा तोकेको छ। आयोगका अनुसार देशभरका विभिन्न निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था र पहुँचको आधारमा वर्गीकरण गरी खर्च सीमा निर्धारण गरिएको हो।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापसहित काभ्रेपलाञ्चोकका दुई, मकवानपुरका दुई, गोरखाको एक, लमजुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडी गरी २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। भौगोलिक विकटता र प्रचार–प्रसारमा लाग्ने बढी लागतलाई ध्यानमा राख्दै यी क्षेत्रमा खर्च सीमा अन्यत्रभन्दा बढी राखिएको आयोगले जनाएको छ।

सुगम जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारका लागि न्यूनतम २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको छ। सबैभन्दा कम खर्च सीमा तोकिएका निर्वाचन क्षेत्र काठमाडौँ–१, ३, ६, ७ र ८ रहेका छन्।

त्यस्तै, तेह्रथुम, पर्सा–१, २ र ३, रसुवा, काठमाडौँ–२, ४, ५, ९ र १०, ललितपुर–१ र २, मनाङ, कास्की–२ तथा रुकुम पूर्वका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख र ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म चुनावी खर्च गर्न पाउने व्यवस्था गरिएको छ।

यसपटक निर्वाचन खर्चलाई पारदर्शी र निगरानीयोग्य बनाउन आयोगले उम्मेदवारलाई अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यही खातामार्फत सबै खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगले तोकिएको सीमा ननाघ्न र खर्च विवरण समयमै बुझाउन उम्मेदवार तथा राजनीतिक दललाई आग्रह गरेको छ।

Please Login to comment in the post!

you may also like