• Wednesday, April 29, 2026

बुधबार देशभर वर्षा र हावाहुरीको सम्भावना, केही ठाउँमा भारी वर्षा हुनसक्ने



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर वर्षा हुने सम्भावना रहेको छ। गत शनिबारदेखि बदली र वर्षा भइरहेकामा आज रातिदेखि प्रि–मनसुन प्रणाली थप सक्रिय हुने देखिएको छ। पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी पर्ने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

महाशाखाका प्रवक्ता विभूति पोखरेलका अनुसार प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम समेत रहनेछ। बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने आकलन गरिएको छ।

बिहीबारदेखि भने मौसममा केही सुधार आउने अनुमान गरिएको छ। सो दिन हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मात्र हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।यसैबीच बुधबार साँझ देशका विभिन्न क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ। सुदूरपश्चिमका डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेशका धनुषा र बारा तथा कोशीका मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Please Login to comment in the post!

you may also like