• Wednesday, April 29, 2026

उभयचर संरक्षणमा उदासीनता: बढ्दो संकट र आवश्यक पहल


मानवीय गतिविधिका कारण विश्वभर विभिन्न वातावरणीय संकट देखा परिरहेका छन्, जसमा जैविक विविधताको ह्रास एक गम्भीर समस्या बनेको छ। यस सन्दर्भमा मेरुदण्ड भएका जीवमध्ये उभयचरको अवस्था झनै चिन्ताजनक देखिन्छ। करिब ३६–३७ करोड वर्षअघि उत्पत्ति भएका उभयचर जल र जमिन दुवैमा बसोबास गर्ने विशिष्ट जीव हुन्, तर विडम्बना, आज यिनै प्रजाति मानवकै कारण लोप हुने अवस्थामा पुगेका छन्।पारिस्थितिक प्रणालीमा उभयचरको महत्वपूर्ण भूमिका रहन्छ। यिनीहरूले वातावरण सन्तुलन कायम राख्न, खाद्यचक्र सञ्चालन गर्न, पानीको गुणस्तर सुधार गर्न तथा डेंगु र मलेरियाजस्ता रोग नियन्त्रणमा समेत सहयोग पुर्‍याउँछन्। यद्यपि, यति महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि उभयचर संरक्षणमा अपेक्षित ध्यान दिइएको छैन।

विश्वभर करिब नौ हजारभन्दा बढी उभयचर प्रजाति अभिलेख भएका छन्, जसमध्ये ४१ प्रतिशत प्रजाति लोपोन्मुख अवस्थामा छन्। नेपालमा मात्रै ५७ भन्दा बढी प्रजाति पाइन्छन्, तर तिनको संरक्षणमा पर्याप्त पहल भएको देखिँदैन। संरक्षण नीति प्रायः बाघ, गैंडा र हात्ती जस्ता ठूला स्तनधारी जीवमा केन्द्रित हुँदा स–साना उभयचरहरू ओझेलमा परेका छन्।उभयचर संरक्षणमा अर्को प्रमुख चुनौती भनेको जनचेतनाको अभाव हो। स्थानीय समुदायमा संरक्षणसम्बन्धी कार्यक्रम नहुँदा यिनको महत्व, वासस्थानको अवस्था तथा घट्दो संख्याबारे जानकारी न्यून छ। साथै, पाहा सिकार गर्ने परम्परा, अत्यधिक संकलन र वासस्थान विनाशले पनि उभयचरको अस्तित्व जोखिममा परेको छ।

शिक्षा प्रणालीमा पनि उभयचरको महत्व उल्लेख भए पनि तिनको संरक्षणका लागि आवश्यक व्यावहारिक ज्ञान र सचेतना अभाव देखिन्छ। त्यसैले विद्यालयस्तरबाटै संरक्षण शिक्षा प्रवर्द्धन गरी विद्यार्थी र समुदायलाई सहभागी गराउनु आवश्यक छ।समग्रमा, वातावरण मानव मात्रको नभई सबै जीवको साझा घर हो। उभयचर संरक्षणका लागि सरकारी प्राथमिकता, जनचेतना अभिवृद्धि, स्थानीय सहभागिता र दिगो कार्यक्रम आवश्यक छन्। सानो प्रयास, जस्तै प्रजनन समयमा संकलन नगर्ने वा अनावश्यक रूपमा जीव नमार्ने अभ्यासले पनि यिनको संरक्षणमा ठूलो योगदान पुर्‍याउन सक्छ।

Please Login to comment in the post!

you may also like