३१ असारमा बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मदन भण्डारी फाउन्डेसन अन्तर्गत एउटा समिति गठन गरिएको थियो। सो बेला एमालेले भण्डारीबारे औपचारिक निर्णय गरिसकेको थिएन। तर भण्डारीले गत १४ असारमा आयोजित कार्यक्रममार्फत सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी थिइन्।सोही कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीलाई राजनीतिक सक्रियतामा स्वागत गरेका थिए। पछिल्लो पटक उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे समेत खुलेरै भण्डारीको पक्षमा देखिएका छन्। उनीहरूले पार्टी निर्णयमा असहमति जनाउँदै केन्द्रीय कार्यालयमा फरक मत पेस गरेका छन्।विद्या भण्डारीको सक्रियताले एमालेभित्र नेतृत्व तहमा मतभेद देखिएको छ। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण नगर्ने र सक्रिय राजनीति रोकिने निर्णय अनुमोदन गराए। तर, ईश्वर पोखरेलले भने यो निर्णयका विरुद्ध झुकाव देखाउँदै जबज (जनताको बहुदलीय जनवाद) र मदन भण्डारीको योगदान अलग गर्न खोजिएको संकेत गरे।‘विचारको टोपी लगाउनेहरू मात्रै विचारका संवाहक होइनन्,’ पोखरेलले भने, ‘चुनौतीहरूको सामना गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो।’केही दिनअघि ओलीले फाउन्डेसनलाई “ठगी खाने भाँडो” बन्ने चेतावनी दिएका थिए। यसको जवाफ दिने शैलीमा पोखरेलले फाउन्डेसनकै पृष्ठभूमिलाई सम्झँदै ओलीकै पुरानो भूमिकालाई जोडेका थिए।विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किएकी घोषणा भएसँगै एमालेभित्र बहस चर्किएको छ। एकातिर ओली नेतृत्वको कठोर निर्णय छ भने अर्कातिर वरिष्ठ नेताहरूको खुलेआम असहमति। यो परिस्थितिले एमालेभित्र नयाँ शक्ति–समीकरण जन्माउने संकेत गरेको छ।