युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भविष्यमा हुन सक्ने रुसी आक्रमण रोक्न सुरक्षा प्रत्याभूति पहिलो शर्त हुने बताएका छन्। उनका अनुसार, रुससँग सम्भावित शिखर वार्ता वा शान्ति सम्झौताभन्दा पहिला युक्रेनको सुरक्षा सुनिश्चित हुनु अपरिहार्य छ।बिहीबार सार्वजनिक गरिएको टिप्पणीमा उनले दुवै पक्ष अझै युद्धको तयारीमै रहेको चेतावनी पनि दिए। उनका भनाइमा, रुसले दक्षिणी सीमामा सैनिक तैनाथ गरिरहेको छ भने युक्रेनले लामो दूरीका नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ।जेलेन्स्कीले शान्ति प्रक्रियामा ठोस प्रगति नभएको उल्लेख गर्दै आगामी सातदेखि १० दिनभित्र सुरक्षा प्रत्याभूतिका योजनाबारे स्पष्ट जानकारी चाहेको बताए। “कुन देश कुन क्षणमा के गर्न तयार छ भन्ने कुरा प्रस्ट बुझ्न जरुरी छ,” उनले जोड दिए।यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि भइरहेको रुसी आक्रमण अन्त्य गर्न जेलेन्स्की र पुटिन दुवैसँग वार्ता गर्ने प्रयास थालेका छन्।
यता बेलायत र फ्रान्सको नेतृत्वमा केही मित्र राष्ट्रहरूले युक्रेनलाई सुरक्षा सुनिश्चिततामा सहयोग पुर्याउने उद्देश्यले नयाँ सैन्य गठबन्धन खडा गर्न थालिएको छ। तर, रुसले भने युक्रेनले ‘दीर्घकालीन’ शान्तिप्रति चासो नदेखाएको आरोप लगाउँदै किभले मस्कोका माग विपरीत सुरक्षा प्रत्याभूति खोजेको दाबी गरेको छ।