ह्वाइट हाउसले हिन्द महासागरस्थित चागोस द्वीपसमूह (चागोस टापुहरू) मौरिससबाट खरिद गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिरहेको खबर सार्वजनिक भएको छ। द टेलिग्राफ का अनुसार, अमेरिकी अधिकारीहरूले बेलायतलाई बाइपास गर्दै डिएगो गार्सिया टापुमाथि प्रत्यक्ष नियन्त्रण कायम गर्न मौरिसससँग अलग सम्झौता गर्ने प्रस्ताव तयार पारेका छन्।यो प्रस्ताव बेलायती प्रधानमन्त्री कियर स्टार्मरले चागोस टापुहरूको सार्वभौमिकता मौरिससलाई हस्तान्तरण गर्ने योजनाको विकल्पका रूपमा ह्वाइट हाउसले तयार पारिरहेको विभिन्न रणनीतिमध्ये एक हो।
अमेरिकी अधिकारीहरूका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्प चागोस क्षेत्र बेलायतले हस्तान्तरण गर्नु हुँदैन भन्ने अडानमा दृढ छन्। उनका अनुसार, डिएगो गार्सियामा रहेको अमेरिका–बेलायतको संयुक्त सैन्य अड्डा हिन्द महासागर क्षेत्रको सुरक्षा तथा अमेरिकी राष्ट्रिय हितका लागि अत्यन्तै महत्वपूर्ण छ।अमेरिकी पक्षले डिएगो गार्सियालाई केवल एउटा सैन्य अड्डाका रूपमा मात्र नभई एशिया, मध्यपूर्व र अफ्रिकातर्फ सञ्चालन हुने सुरक्षा तथा रणनीतिक गतिविधिहरूको प्रमुख केन्द्रका रूपमा हेर्ने गरेको छ। त्यसैले यसको सञ्चालन र सुरक्षा दीर्घकालसम्म सुनिश्चित गर्न अमेरिका र बेलायतबीच निरन्तर छलफल भइरहेको बताइएको छ।यसैबीच, बेलायत सरकारले अप्रिलमा चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गर्ने प्रक्रिया अस्थायी रूपमा रोकिदिएको थियो। राष्ट्रपति ट्रम्पले यस सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई “ठूलो गल्ती”को संज्ञा दिएका थिए।
बेलायती सरकारका एक प्रवक्ताले भने, “डिएगो गार्सियामाथिको नियन्त्रण जोखिममा पर्न थालेपछि बेलायतको राष्ट्रिय हित जोगाउन र सम्भावित प्रतिद्वन्द्वी शक्तिहरूलाई यस्तो रणनीतिक स्थानमा प्रभाव जमाउन नदिन आवश्यक कदम चालिएको हो।”उनले थपे, “डिएगो गार्सिया विगत करिब ६ दशकदेखि बेलायत र अमेरिकाको साझा सुरक्षाको आधार बनेको छ। यसको दीर्घकालीन सुरक्षा र सञ्चालन सुनिश्चित गर्नु नै बेलायत–मौरिसस सम्झौताको मुख्य उद्देश्य हो।”डिएगो गार्सिया हिन्द महासागरको मध्यभागमा अवस्थित एक अत्यन्त रणनीतिक टापु हो। यहाँ रहेको सैन्य अड्डाले अमेरिका र बेलायतलाई एशिया, अफ्रिका तथा मध्यपूर्व क्षेत्रमा सुरक्षा निगरानी, सैन्य अभियान तथा आपत्कालीन प्रतिक्रिया सञ्चालन गर्न महत्वपूर्ण आधार प्रदान गर्दै आएको छ।
चागोस टापुहरूको स्वामित्व र डिएगो गार्सियाको भविष्य अहिले अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको छ। अमेरिका, बेलायत र मौरिससबीचको यो विवाद केवल भूमि स्वामित्वको विषय मात्र नभई हिन्द महासागर क्षेत्रमा शक्ति सन्तुलन, सुरक्षा रणनीति र विश्व राजनीति सँग प्रत्यक्ष रूपमा जोडिएको विषय बनेको छ।