२०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मदन पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएका थिए। तीमध्ये सात पुस्तक अन्तिम चरणमा छनोट भएका थिए। छनोटमा परेका पुस्तकहरूमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो: कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दज्र्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह: नेपालको भोट–चीन सम्बन्ध र भारत’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ समावेश थिए। यी उत्कृष्ट कृतिहरूमध्येबाट ‘उरमाल’ले २०८१ को मदन पुरस्कार हासिल गरेको हो।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ लाई प्रदान गरिएको थियो। यस्तै, रानी जगदम्बाको निधनपछि २०४५ सालदेखि जगदम्बा–श्री सम्मान शुरू भएको हो, जुन पहिलोपटक गायक नारायण गोपाललाई अर्पण गरिएको थियो।
मदन पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट पुस्तकलाई प्रदान गरिन्छ, भने जगदम्बा–श्री सम्मान नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा उल्लेखनीय योगदान गर्ने व्यक्ति वा संस्थालाई अर्पण गरिन्छ। यी दुवै पुरस्कारले नेपाली साहित्य र संस्कृतिको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।