• Tuesday, March 10, 2026

हिमालको कथा बोकेर संसदतर्फ टासी ल्हाजोम



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीबाट नाम हटाएपछि टासी ल्हाजोम हुम्लाबाट प्रत्यक्ष उम्मेदवार बनेकी छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गरिसकेकी छन्। यो उम्मेदवारी सहज प्रक्रियाबाट आएको भने होइन। हुम्ला जिल्लाभरका पार्टी पङ्क्ति, समर्थक र शुभेच्छुकहरूले उनलाई प्रत्यक्ष उम्मेदवार बनाउन दबाबमूलक धर्नासमेत दिएका थिए। अन्ततः पार्टी नेतृत्व हुम्लाको दबाबका सामु झुक्यो र उम्मेदवारी दर्ताको दिनमै टासीले टिकट पाइन्।जलवायु अभियन्ताको रूपमा परिचित टासी ल्हाजोम यसअघि मन्त्री बन्ने चर्चामा पनि थिइन्। तर आन्तरिक प्रतिस्पर्धा र शक्ति सन्तुलनका कारण उनी रोकिइन्। पार्टीको चुनावमार्फत समानुपातिक बन्दसूचीमा परेकी टासीको नाम पछि हटाइयो। त्यो निर्णयले उनलाई मात्र होइन, सिंगो हुम्लालाई नै चोट पुर्‍याएको अनुभूति गरायो। यही पृष्ठभूमिमा उनी आज प्रत्यक्ष निर्वाचनको मैदानमा उत्रिएकी छन्।तर टासी ल्हाजोम केवल एक राजनीतिक उम्मेदवार मात्र होइनन्। उनी हिमालको कथा बोकेर मूलधारमा प्रवेश गर्न खोजिरहेकी एक सशक्त आवाज हुन्।

हिमबाढीले बदलिएको जीवनको लय

टासीको जीवनको धार मोडिनुमा एउटा घटना निर्णायक बन्यो। सन् २०१३ मा उनले आफ्नै पुर्ख्यौली गाउँ हुम्लाको हल्जीमा ठूलो हिमबाढी आएको खबर थाहा पाइन्। त्यो खबर उनले मिडियाबाट होइन, आमाबुबाको मुखबाट सुनेकी थिइन्। अझ अचम्मको कुरा, बाढी आएको दुई वर्षपछि मात्र उनलाई त्यसबारे जानकारी भयो। काठमाडौंमा हुर्कँदै गरेकी टासीलाई त्यतिबेलासम्म थाहा थिएन कि लिमी उपत्यकाजस्तो पानी नपर्ने ठाउँमा पनि बाढी आउन सक्छ।सन् २०११ को भीषण भेलबाढीले हल्जी गाउँका घर, खेतीयोग्य जमिन र प्राचीन गुम्बासम्म संकटमा पारेको थियो। गुम्बा, जुन केवल धार्मिक संरचना मात्र होइन, सम्पूर्ण सभ्यता र सांस्कृतिक चेतनाको केन्द्र हो, त्यसैलाई बगाउन खोजिएको खबरले टासीको मनमा गहिरो आघात पुर्‍यायो। यही प्रश्नले उनलाई सताउन थाल्यो-“हाम्रो गाउँमा यस्तो विपत्ति आयो, तर किन कसैले सुनेन?”

राजधानीमा हुर्किएकी, हिमालसँग गाँसिएकी

टासी बाल्यकालमै गाउँ छाडेर काठमाडौं आएकी थिइन्। लिमी उपत्यकाका १८ जना बालबालिकासँगै गैरसरकारी संस्थाको सहयोगमा उनी राजधानी आइन्। गाउँकै गुम्बाका टुल्कु (अवतारी लामा) ले उनको शिक्षाको ढोका खोलिदिएका थिए। काठमाडौंमा उनले शिक्षा मात्र होइन, देशको सामाजिक, आर्थिक र राजनीतिक यथार्थ बुझ्ने अवसर पाइन्। मिडियाको पहुँच, तात्तातो समाचार र सूचनाको प्रवाहसँग उनी परिचित भइन्।तर यही सूचनाको भीडमा उनले कहिल्यै हुम्ला देखिनन्। काठमाडौंमा एक झर पानीले जमल जलमग्न भएको समाचार आउँथ्यो, तर हुम्लामा गाउँ बगाउँदा पनि चुप्पी छाइरहन्थ्यो। यही मौनताले उनको अन्तरमनमा प्रश्न जन्मायो-“हुम्ला किन समाचारको धारबाट यति टाढा छ?”

फर्किंदा देखिएको बद्लिँदो हिमाल

चौध वर्षपछि, सन् २०२० मा टासी गाउँ फर्किइन्। बाल्यकालमा देखेका डोरेटो उस्तै थिए, अभाव उस्तै थियो, तर प्रकृति उस्तै थिएन। पहिले हिउँ मात्र पर्ने ठाउँमा अब दर्के झरी पर्न थालेको थियो। सपाट छाना भएका घरहरू पानी रोक्न नसक्ने अवस्थामा पुगेका थिए। हिमाल नाङ्गिँदै थिए, पर्माफ्रोस्ट कमजोर हुँदै थियो, र त्यही खुकुलो माटोमाथि पानी पर्दा पहिरो र भेलबाढीको जोखिम बढ्दै गएको थियो।स्थानीयले सीमावर्ती चीनबाट प्लास्टिक ल्याएर छानामा ओछ्याउनेजस्ता अनुकूलन उपाय अपनाउन थालेका थिए। जलवायु परिवर्तन कुनै किताबको सिद्धान्त होइन, टासीका लागि त्यो आफ्नै गाउँको भोगाइ बनिसकेको थियो।

गुम्बा, संस्कृति र अस्तित्वको संकट

हल्जी गाउँको इतिहास गुम्बासँग गाँसिएको छ। एघारौँ शताब्दीमा निर्मित हल्जी रिन्छिनलिङ गुम्बा केवल धार्मिक केन्द्र होइन, सम्पूर्ण जीवनचक्रको केन्द्र हो। जन्मदेखि मृत्यु सम्मको संस्कार गुम्बासँग जोडिएको छ। तर पछिल्ला वर्षहरूमा हिमविचलन र भेलबाढीका कारण नदीको बहाव गुम्बातिर सोझिँदै गएको छ। खोला र गुम्बाबीचको दूरी घट्दै जाँदा गाउँ त्रासमा बाँचिरहेको छ।सन् १९९६ यता लिमी उपत्यकामा लगातार हिमबाढी र हिमपहिरो आइरहेका छन्। अनुसन्धानहरूले आगामी ३० वर्षभित्र थप हिमताल विस्फोटको जोखिम औंल्याइरहेका छन्। जाङ गाउँ खण्डित भइसकेको छ। यी सबै परिवर्तनको मूल्य हिमाली समुदायले तिर्न बाध्य छन्- जसको गल्ती उनीहरूले गरेका होइनन्।

‘नो मोनास्ट्री, नो भिलेज’

यही संकटलाई विश्वसामु पुर्‍याउन टासीले वृत्तचित्रको माध्यम रोजिन्। ‘नो मोनास्ट्री, नो भिलेज’ मार्फत उनले गुम्बा नष्ट भए गाउँ पनि नष्ट हुने यथार्थ प्रस्तुत गरिन्। दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा अध्ययन गर्दा उनले स्क्रिप्ट राइटिङ तालिम लिइन्, जसले उनलाई कथालाई दृश्यमा उतार्ने आत्मविश्वास दियो।

उनका लागि यो वृत्तचित्र केवल फिल्म होइन, हिमाली भेगको समवेत आवाज हो।वैश्विक मञ्चहरूमा हिमाली क्षेत्रको प्रतिनिधित्व प्रायः शहर केन्द्रित पात्रहरूले गर्ने गरेकोप्रति टासी असन्तुष्ट छिन्। कोप–२६ मा कसैले “तिम्रो कथा म सुनाइदिन्छु” भनेको प्रसंग सुनाउँदै उनी भन्छिन्, “मेरो कथा सुनाउन म नै सक्षम छु। मलाई पठाऊ, मै सुनाउँछु।”यही आत्मविश्वास र आत्मसम्मानले उनलाई अभियन्ताबाट राजनीतितर्फ ल्याएको हो। उनी बुझ्छिन्- केवल पैरवीले मात्र पर्याप्त हुँदैन, नीति निर्माणको तहमा पुग्नुपर्छ।आज टासी ल्हाजोम हुम्लाबाट संसद पुग्ने बाटोमा छन्। त्यो बाटो सजिलो छैन। तर त्यो बाटोमा उनी एक्लै छैनन्- उनका साथमा हिमालका कथा छन्, गुम्बाको घण्टीको आवाज छ, बाढीले बगाएका याक–चौंरीको पीडा छ, र बोल्न नपाएका समुदायको आशा छ।हिमालको त्यो आवाज अब मौन बस्ने छैन।

Please Login to comment in the post!

you may also like