काठमाडौँ। नेपाली फिल्म बजारमा फेरि हलचल मच्चाउने तयारीमा नयाँ फिल्म ‘ताराहरू’ आएको छ। मध्यमवर्गीय जीवनका संघर्षलाई केन्द्रमा राखेर बनेको यो कथा दर्शकलाई आफ्नै जीवनसँग जोडिने आशा गरिएको छ।
बुधबारदेखि नै क्युएफएक्स सिनेमाज ले उपत्यकामा ३ र बाहिर ४ गरी ७ सोका लागि टिकट बिक्री सुरु गरिसकेको छ। यससँगै आइएनआइ सिनेमाज र वान सिनेमाज ले पनि बुकिङ खुलाएका छन्। बाँकी हलहरू — बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिके सिनेमाज — ले पनि छिट्टै टिकट बिक्री खुलाउने तयारी गरिरहेका छन्।
फिल्ममा निर्देशककै रूपमा आएका आशान्त शर्मा स्वयंले प्रमुख भूमिका निर्वाह गरेका छन्। उनको साथमा मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङ लगायत कलाकार देखिनेछन्।
गीत ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ ले पहिले नै दर्शकको कानमा बस्न थालेको छ भने, टिजर र ट्रेलरले फिल्मप्रतिको उत्सुकता अझ बढाइदिएको छ।
वेज प्रा.लि. को प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा र युगविजय पंगेनी शर्मा छन्।
फिल्मको छायांकन सरद महतो, सम्पादन विनोद पाण्डे, र भिएफएक्स अविनाश नापित ले सम्हालेका छन्।
यो शुक्रबार अर्थात् भदौ ६ गतेदेखि ‘ताराहरू’ देशभरका हलमा प्रदर्शन हुँदैछ। सोही दिन रिलिज हुने अन्य दुई फिल्म हुन् — ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’।