काठमाडौं। जीवनका संघर्ष र कथामा ढल्किएको नयाँ सिनेमाई यात्रा ‘अभिमन्यु’ आउँदो भदौ २७ गतेदेखि देशभरका पर्दामा उत्रिँदैछ। नेपाली र हिन्दी दुवै भाषामा निर्माण गरिएको यस कृतिले दर्शकलाई फरक अनुभूति दिने अपेक्षा गरिएको छ।
निर्देशक सुशान्त गौतमले आफ्नो भिजनमार्फत् पात्रहरूलाई जीवन्त पार्दा, लक्ष्मी, कामेश्वर, किरणसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला आदिले कथालाई अभिनयमार्फत् गहिराइ दिन्छन्।
फिल्मको हिन्दी संस्करण भने दशैंको घटस्थापनाको दिन, असोज ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ,जसले पर्वको उल्लाससँगै दर्शकलाई अर्को भाषिक स्वाद दिनेछ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु’लाई निर्माता विनोद पौडेल र गुञ्जन गिरीले मूर्तरूप दिएका छन्। सह–निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
यस सिनेमाई यात्रामा मुकेश खनालको लेखन, शरद महतोको छायांकन, र सुरेन्द्र पौडेल तथा मदन घिमिरेको सम्पादन मिलेर कथालाई दृश्य र ध्वनिमा पूर्णता दिन खोजिएको छ।