• Tuesday, August 26, 2025

नेपालको पर्यटनलाई डिजिटल युगको नयाँ पुस्तासम्म जोड्ने अभियानमा पर्यटन बोर्ड


नेपालको प्राकृतिक सुन्दरता, संस्कृति र साहसिक यात्रालाई विश्वभर पुर्‍याउन नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जाल टिकटक सँग साझेदारी गरेको छ। यस साझेदारीको मुख्य उद्देश्य नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनु हो। टिकटकको विश्वव्यापी पहुँचमार्फत नेपालका हिमाल, ताल, सांस्कृतिक सम्पदा, चाडपर्व र स्थानीय खानपानलाई करोडौं मानिसमाझ पुर्‍याइनेछ। यो सहकार्य केवल प्रचारप्रसार मात्र नभई नेपाललाई डिजिटल युगको नयाँ पुस्तासम्म जोड्ने अभियान पनि हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यो साझेदारीले नेपालको पर्यटनलाई नयाँ दिशा दिने बताएका छन्। आजका युवाले भ्रमणको निर्णय गर्नुअघि डिजिटल माध्यमबाट वास्तविक कथा र अनुभव खोज्ने गरेको भन्दै उनले टिकटकको प्रयोगले उनीहरूसम्म नेपालका अद्वितीय गन्तव्यहरूको कथा पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे। यस सहकार्यले पर्यटन क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड बनाउँदै ग्रामीण समुदाय र साना व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने उनको भनाइ छ। मन्त्री पाण्डेले नेपाललाई हिमाल र अध्यात्मको देशका रूपमा मात्र चिनाउने पुरानो परम्परा बदलिएको र अब डिजिटल माध्यमबाट नयाँ तरिकाले प्रचार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस साझेदारीलाई नेपालको सौन्दर्य र आत्मालाई संसारभर पुर्‍याउने महत्त्वपूर्ण कदमको रूपमा लिएका छन्। उनले टिकटकको पहुँचले नेपालको पर्यटन प्रवर्द्धनको प्रयासलाई थप बल पुग्ने बताए। यस सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकलाई मात्र नभई स्वदेशका युवालाई पनि आफ्नो संस्कृति र अनुभव नयाँ तरिकाले प्रस्तुत गर्ने अवसर दिने उनको भनाइ छ। जोशीका अनुसार, बोर्डले अन्तर्राष्ट्रिय ‘ट्राभल कन्टेन्ट क्रिएटर’ हरूलाई नेपाल भ्रमणको लागि आमन्त्रण गर्नेछ र उनीहरूलाई हिमालदेखि होमस्टेसम्म पुर्‍याएर प्रचारप्रसार गराउने योजना छ। यसैगरी, टिकटकले नेपाली कन्टेन्ट क्रिएटरहरूलाई तालिम दिने र उनीहरूको दर्शक संख्या विस्तार गर्न सहयोग गर्नेछ।टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले नेपालसँगको यो साझेदारी आफ्नो लागि पनि गर्वको विषय रहेको बताए। उनले टिकटकमा हरेक दिन करोडौं मानिस नयाँ गन्तव्यको खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यो सहकार्यले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यस अभियानअन्तर्गत ‘लाइफटाइम एक्स्पेरियन्स’ ह्यासट्यागमा विशेष ‘इन-एप प्लेटफर्म’ बनाइने जानकारी दिँदै उनले हिमालयदेखि तराईका नदी, चाडपर्व र खानपानलाई छोटा भिडियोमार्फत विश्वभर देखाइने बताए।

यो अभियान सन् २०२५ को बाँकी अवधिभर चरणबद्ध रूपमा सञ्चालन गरिनेछ र यस क्रममा काठमाडौँमा ‘भिजिट नेपाल’ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटर र पर्यटन व्यवसायीहरूको सहभागिता रहनेछ।

Please Login to comment in the post!

you may also like