नेपालको गौरवशाली इतिहास र राष्ट्रिय व्यक्तित्वको सम्मान गर्दै हुलाक सेवा विभागले एक महत्त्वपूर्ण कार्य सम्पन्न गरेको छ। विभागले नेपालका अग्रज प्रशासक, कूटनीतिज्ञ तथा देशभक्त सरदार भीमबहादुर पाँडेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। यस ऐतिहासिक कार्यक्रमको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका थिए।मन्त्री गुरुङले हुलाक टिकटलाई इतिहासको जीवन्त अभिलेखको रूपमा व्याख्या गर्दै देशभक्त र राष्ट्रसेवकहरूको खोजी गरी यस्ता टिकटहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले भने, “हुलाक टिकटले हाम्रा अग्रजहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुका साथै भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।” यो टिकट प्रकाशनले पाँडेले राष्ट्रका लागि पुर्याएको अतुलनीय योगदानको कदर गरेको उनको भनाइ थियो।
सरदार भीमबहादुर पाँडे, नेपाल एकीकरणका नायक काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तति हुन्। उनी भारतबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपाली हुनुका साथै प्रशासन, कूटनीति, लेखन र समाजसेवाका क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्व हुन्। मन्त्री गुरुङले युवा पुस्तालाई यस्ता व्यक्तित्वहरूबाट प्रेरणा लिई राष्ट्र निर्माणमा लाग्न प्रेरित गर्ने यो एउटा उत्तम अवसर भएको बताए।विभागले हालका दिनहरूमा राष्ट्रिय व्यक्तित्वहरूसँगै लोपोन्मुख रैथाने बाली, संस्कृति र परम्परालाई पनि हुलाक टिकटको माध्यमबाट प्रचारप्रसार गर्न सुरु गरेको छ। यसले हाम्रो मौलिक पहिचान र सम्पदालाई संरक्षण गर्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सरदार पाँडेका आफन्त तथा छोराछोरीको उपस्थिति थियो। उनका माइला छोरा हिमालय पाँडेले बुबाको नाममा हुलाक टिकट प्रकाशन हुनुले आफूहरू राष्ट्रद्वारा सम्मानित भएको महसुस गरेको बताए।