मोरङको कुख्यात उमा गौरी कृषि सहकारी हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले ठूला धक्का दिने आदेश दिएको छ। अदालतले सहकारीको करोडौँ रकम अपचलनमा संलग्न ठहरिएका ४ जनासँग जनही १–१ करोड रुपैयाँ धरौटी माग गरेको हो।धरौटी तिर्नुपर्नेमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी पत्नी अञ्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बाँस्कोटा रहेका छन्।यसअघि मोरङ जिल्ला अदालतले अञ्जलालाई केवल १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। तर, सरकारी वकिलको कार्यालयले सो आदेशलाई चुनौती दिंदै उच्च अदालतमा पुनरावेदन गरेपछि बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासले कठोर आदेश सुनाएको हो।मोरङको धनपालथान गाउँपालिकामा सञ्चालित उमा गौरी सहकारीमा ८,८४२ जना शेयर सदस्य छन्। छानबिनमा सहकारीको करिब २२ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।
यसै प्रकरणमा अञ्जला कोइरालासहित २६ जनामाथि मङ्सिरमा मुद्दा दायर गरिएको थियो।गत पुस २४ गते जिल्ला अदालतले अञ्जलालाई १० लाख, बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा छाडेको थियो।पीडितको करोडौँ रकम हराएको गम्भीर मामिलामा ‘सस्तो धरौटी’ पर्याप्त छैन भन्ने ठहर गर्दै उच्च अदालतले आज प्रतिवादीलाई कडाइपूर्वक १ करोडको भारी धरौटी बुझाउनुपर्ने आदेश जारी गरेको हो।