सन् २०२३ मा अमेरिकामा अवैध रूपमा बस्ने आप्रवासीको संख्या १ करोड ४० लाख (१४ मिलियन) पुगेको एक अनुसन्धान प्रतिवेदनले देखाएको छ। प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा ठूलो हो।अघिल्लो वर्ष (२०२२) यो संख्या १ करोड १८ लाख (११.८ मिलियन) मात्र थियो भने, यसअघि सन् २००७ मा १ करोड २२ लाख (१२.२ मिलियन) उच्चतम रेकर्ड कायम भएको थियो। तर २०२३ मा यो संख्या ती सबैभन्दा बढी नाघेको प्यूले जनाएको छ।यस वृद्धिमा करिब ६ मिलियन मानिसहरू सहभागी भएका छन्, जसलाई विभिन्न प्रकारका अस्थायी कानुनी संरक्षण प्राप्त थियो। तर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तीमध्ये धेरै संरक्षण समाप्त गरिदिएका थिए।
नयाँ तथ्यांक र राजनीतिक बहस
प्यूका अनुसार, २०२४ मा पनि संख्या बढेको देखिएको भए पनि तत्कालीन राष्ट्रपति जो बाइडेनले असाइलम (आश्रय) प्रक्रिया कडाइ गरेपछि वृद्धिको दर सुस्त भएको थियो। तर २०२५ मा ट्रम्प सत्तामा फर्किएसँगै संख्या केही घटेको भए पनि अझै १४ मिलियनभन्दा माथि रहेको अनुमान गरिएको छ।अमेरिकाको कुल आप्रवासी जनसंख्या (कानुनी र अवैध दुवै) २०२५ जनवरीमा ५ करोड ३० लाख नाघेर देशको कुल जनसंख्याको १५.८ प्रतिशतमा पुगेको थियो। यो अनुपात १९६० पछि पहिलो पटक घट्न थालेको प्यूले जनाएको छ।
कुन देशका नागरिक बढी?
अवैध आप्रवासीमध्ये सबैभन्दा ठूलो हिस्सा मेक्सिकन नागरिकहरूको हो, जसको संख्या सन् २०२३ मा ४.३ मिलियन पुगेको छ। तर समग्र वृद्धिको कारण भने अन्य मुलुकका नागरिक हुन्, जसको संख्या दुई वर्षमा ६.४ मिलियनबाट बढेर ९.७ मिलियन पुगेको छ।सबैभन्दा धेरै वृद्धि ग्वाटेमाल, एल साल्भाडोर, होन्डुरास, भारत, भेनेजुएला, क्यूबा, कोलम्बिया, निकारागुवा, इक्वेडर, युक्रेन र पेरुका आप्रवासीमा देखिएको छ।
कुन राज्यमा बढी?
क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्यूयोर्क, न्यू जर्सी र इलिनोइस अवैध आप्रवासी सबैभन्दा धेरै भएका राज्य हुन्। तर हालका वर्षमा टेक्सासले क्यालिफोर्नियासँगको अन्तर उल्लेखनीय रूपमा घटाएको छ।
श्रम बजारमा योगदान
प्यूका अनुसार, सन् २०२३ मा करिब ९.७ मिलियन अवैध आप्रवासी अमेरिकी श्रम बजारमा सक्रिय थिए, जुन देशको कुल श्रमशक्तिको ५.६ प्रतिशत हो। नेभाडा, फ्लोरिडा, न्यू जर्सी र टेक्सासमा अवैध आप्रवासी श्रमिकहरूको हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ।
विभिन्न अनुमान, फरक दाबी
राष्ट्रपति ट्रम्पले यसअघि चार वर्षमा २१ मिलियन आप्रवासी अमेरिका प्रवेश गरेको दाबी गरेका थिए, जुन प्यूको तथ्यांकभन्दा निकै बढी हो।FAIR (Federation for American Immigration Reform) ले १८.६ मिलियन र Center for Immigration Studies ले हालै १४.२ मिलियनको अनुमान गरेका थिए।यसबीच, अमेरिकी गृहमन्त्री क्रिस्टि नोएमले पछिल्ला ६ महिनामा अवैध आप्रवासी १.६ मिलियनले घटेको दाबी गर्दै “यो ठूलो उपलब्धि” भनेकी छन्। (एजेन्सीहरुको सहयोगमा)