अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका एक चिनियाँ नागरिकलाई उत्तर कोरियामा अवैध रूपमा हतियार पठाएको अभियोगमा ८ वर्ष कैद सजाय सुनाइएको छ।४२ वर्षीय शेंगहुआ वेन सन् २०१२ मा विद्यार्थी भिसामा अमेरिका पुगेका थिए। भिसा सकिएपछि गैरकानुनी रूपमा उतै बस्दै आएका उनले पछिल्ला वर्षमा उत्तर कोरियाका अधिकारीसँग मिलेर संवेदनशील हतियार तथा उपकरण खरिद गरी पठाउने काम थालेका थिए।अदालतका अनुसार, वेनले क्यालिफोर्नियाबाट बन्दुक र गोलीहरू होङकङमार्फत उत्तर कोरियातर्फ पठाएका थिए। सो क्रममा उनले सामानलाई फ्रिज, क्यामेरा पार्ट्स जस्ता सामान्य उपकरणको रूपमा दर्ता गरेर ढुवानी गरेका थिए। यसरी अवैध कारोबारबाट उनले करिब दुई मिलियन अमेरिकी डलर (करिब २६ करोड रुपैयाँ) कमाएको तथ्य फेला परेको छ।एफबीआईले उनको घरमा छापा मार्दा ५० हजारभन्दा बढी गोली, रासायनिक खतरा पत्ता लगाउने उपकरण र ट्रान्समिशन डिटेक्टरजस्ता सैन्य प्रयोजनका सामग्री बरामद गरेको थियो।अमेरिकी अधिकारीहरूले वेनको गतिविधिलाई अन्तर्राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा ठहर गरेका छन्। अदालतले उनलाई “विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको” र “अमेरिकी निर्यात नियम उल्लङ्घन गरेको” अभियोगमा दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय सुनाएको हो।