शोको कावाता, जापानको क्योटो प्रिफेक्चर अन्तर्गतको यावाता नगरकी ३५ वर्षीया मेयर, पहिलो सन्तान जन्माउनका लागि मातृत्व बिदा लिने घोषणा गर्दै फेरि एकपटक इतिहास रच्न सफल भएकी छन्। उनको यो निर्णयले जापानको परम्परागत पुरुषप्रधान राजनीतिक तथा श्रम प्रणालीबारे राष्ट्रिय बहसलाई नयाँ दिशा दिएको छ।
सन् २०२३ मा मेयर निर्वाचित भएकी कावाता सेप्टेम्बरको मध्यतिर सन्तान जन्माउने अपेक्षा गरिएको छ। उनले प्रसूति अघि ८ हप्ता र प्रसूति पछि ८ हप्ता गरी कुल १६ हप्ताको मातृत्व बिदा लिने बताएकी छन्। जापानमा कार्यरत कुनै मेयरले यसरी मातृत्व बिदा लिएको यो सम्भवतः पहिलो घटना हो।
यद्यपि सार्वजनिक कर्मचारीहरूका लागि मातृत्व बिदाको व्यवस्था भए पनि निर्वाचित जनप्रतिनिधिहरूका लागि यस्तो बिदा सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था छैन।
कावाताले आफ्नो कदमले प्रणाली परिवर्तनको दिशामा प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेकी छन्। जापान अहिले घट्दो जन्मदर र राजनीतिक नेतृत्वमा महिलाको न्यून सहभागिताजस्ता चुनौतीसँग जुधिरहेको छ।
सीएनएनसँग कुरा गर्दै उनले भनिन्:
“म चाहन्छु कि कर्मचारी, व्यवसायी, व्यवस्थापक र सबै पेशाका मानिसहरूले बच्चा जन्माउने र हुर्काउने जिम्मेवारीलाई कामसँग सन्तुलन मिलाएर अघि बढाउन सकून्।”
उनको अनुपस्थितिमा यावाता नगरको प्रशासनिक जिम्मेवारी उपमेयरले सम्हाल्नेछन्। तर उनले घरमै बसेर नवजात शिशुको हेरचाह गर्दै आवश्यक सरकारी इमेलहरू जाँच गरिरहने बताएकी छन्।
तर कावाताले आफूले प्रत्यक्ष भेटेका अधिकांश नागरिक र सरकारी कर्मचारीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन्।
“धेरैले मलाई निःसंकोच बिदा लिन र आफ्नो स्वास्थ्य तथा परिवारलाई प्राथमिकता दिन सुझाव दिएका छन्,” उनले भनिन्।
उनले मेयर वा उच्च सरकारी पदाधिकारीका लागि मातृत्व बिदाको स्पष्ट कानुनी व्यवस्था नभए पनि कसैले त्यसलाई रोक्न नसक्ने भएकाले यो विषय अहिले "धुमिल कानुनी क्षेत्र" मा रहेको बताइन्।
उनका अनुसार यसले नयाँ पुस्ताका युवतीहरूलाई पनि राजनीतिमा प्रवेश गर्न र नेतृत्व सम्हाल्न प्रेरणा दिइरहेको छ।
जन्मदर बढाउन सरकारले प्रसूति अनुदान, आवास सहायता तथा पितृत्व बिदा प्रोत्साहनजस्ता कार्यक्रम ल्याए पनि विशेषज्ञहरूका अनुसार जापानको अत्यधिक काम गर्ने संस्कृति र बढ्दो जीवनयापन खर्च मुख्य चुनौती बनेका छन्।
जापानमा "कारोशी" अर्थात् "अत्यधिक कामका कारण मृत्यु" भन्ने शब्दसमेत प्रचलित छ, जसले अत्यधिक कार्यभारका कारण हुने गम्भीर स्वास्थ्य समस्या वा मृत्युलाई जनाउँछ।
“यदि महिलाले बच्चा जन्माउन चाहिन् भने करियर त्याग्नुपर्ने, र करियर बनाउन चाहिन् भने बच्चा जन्माउने योजना त्याग्नुपर्ने अवस्था हुनुहुँदैन।”
उनले थपिन्:
“हामी बिस्तारै यो अवस्था सुधार्ने प्रयास गरिरहेका छौँ, र वास्तविक लैङ्गिक समानता हासिल गर्ने दिशामा अघि बढिरहेका छौँ।”