• Tuesday, August 26, 2025

टप एन्ड टी २० शृंखला नेपालले लगातार दोस्रो खेलमा पराजय


अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी २० शृंखला’मा नेपालले लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ। शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल बांग्लादेश ‘ए’सँग ३२ रनले पराजित भएको हो। यसअघि शुक्रबार पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।टस जितेर पहिले ब्याटिङ गरेको बांग्लादेश ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन जोडेको थियो। उसका लागि ओपनर जिशन अलामले ७३ रनको महत्त्वपूर्ण योगदान दिए भने अफिफ हुसेनले २३ बलमा अविजित ४८ रन बनाए।बलिङतर्फ नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान १-१ विकेट हात पारे।बांग्लादेशले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो। नेपालका लागि कुशल मल्लले अविजित ५९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै, आसिफ शेखले २४ बलमा २८ रन, लोकेश बमले १० बलमा १५ रन, कुशल भुर्तेलले ७ बलमा १२ रन, रोहित पौडेलले १० रन र दीपेन्द्रसिंह ऐरीले १ रन बनाए। नन्दन यादव अविजित १४ रनमा रहे।बांग्लादेशको बलिङमा रकिबुल हसनले ३ विकेट लिए भने सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १-१ विकेट लिए।यो शृंखला यसै वर्षको अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी२० विश्वकपको एशिया तथा पूर्वी एबिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि खलेको हो।शृंखलामा अस्ट्रेलियाका बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बांग्लादेशका ‘ए’ टोली सहभागी छन्। नेपालले अब सोमबार मेलबर्न स्टार्स एकेडेमी, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमी, शुक्रबार पाकिस्तान शाहिन्स र होबार्ट हरिकेन्ससँग खेल्नेछ।

Please Login to comment in the post!

you may also like