काठमाडौं। सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन २८ गतेदेखि यसको बिक्री खुला गरेको थियो।
कम्पनीले कुल जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँ को २० प्रतिशत (१४ लाख ५२ हजार कित्ता) आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।
आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।