काठमाडौ। थापागाउँको मण्डला थिएटरमा अहिले हरेक साँझ एउटा अदृश्य यात्रा मञ्चमा जीवित हुन्छ-सम्राट भुजेलको लेखन र निर्देशनमा तयार भएको नाटक ‘आवर्ती’।
जीवनको अनगिन्ती मोड, मृत्युको रहस्यमय द्वार, र त्यसपछिको गन्तव्यबारे हामीले धेरै सुनेका छौँ, तर ‘आवर्ती’ ले त्यसलाई दृश्य, ध्वनि र आत्मिक भावनामा रूपान्तरण गरी दर्शकमाझ ल्याएको छ। भुजेलका शब्दमा, “मानव आत्मा मृत्युमा अन्त्य हुँदैन, बरु अर्को दिशामा यात्रा गर्छ।” यही अन्वेषणलाई नाटकले कलात्मक भाषामा प्रस्तुत गरेको छ।
यस रंगयात्रामा मोडलबाट नाटकसम्म पुगेकी गरिमा शर्माले आफ्नो पहिलो मञ्चीय पाइला टेक्दै आत्माको खोजमा डुब्ने पात्रलाई जीवन दिएकी छन्। मञ्चमा उनको उपस्थिति ताजा बास्नाझैँ छ। उनीसँगै प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दीपेश गजुरेलले पात्रहरूलाई जीवन्त तुल्याएका छन्, जसले नाटकलाई रहस्य र अनुभूतिको समिश्रणमा रूपान्तरण गरेको छ।
कोशा आर्टसको प्रस्तुति र मण्डला थिएटरको सहकार्यमा जन्मिएको ‘आवर्ती’ साउन ३० देखि भदौ १५ सम्म निरन्तर मञ्चन हुँदैछ। सोमबारबाहेक प्रत्येक दिन बेलुकी ५ः३० बजे दर्शक आत्म–यात्राको साक्षी बन्न सक्छन्। शनिबार दिउँसो १ः३० को अतिरिक्त सोले भने दिनको उज्यालोमा पनि मृत्यु र जीवनपछिको कथा अनुभव गर्ने अवसर दिन्छ।