नेपाल उद्योग वाणिज्य महासङ्घ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले नेपालमा अटोमोबाइल क्षेत्रको भविष्य उज्ज्वल रहेको बताएका छन्। उनी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पूर्व अध्यक्ष समेत हुन्।भृकुटीमण्डपमा बिहीबार आयोजित ‘नाडा अटो सो २०२५’ अन्तर्गत नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएसनको संयुक्त अन्तरक्रियामा उनले अटो क्षेत्रमा लगानी गरेपछि लगानीकर्ताले चिन्ता लिन नपर्ने बताए।
दुलालले भने, “अटो क्षेत्रमा लगानी सुरक्षित र दीर्घकालीन रूपमा फाइदाजनक व्यवसाय हो। यसमा पछाडि फर्किनु पर्दैन।”उनले कर्मचारीहरूलाई गाडी तथा मोटरसाइकल किन्न दीर्घकालीन कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार, “यदि कर्मचारीलाई २० वर्षसम्म कर्जा दिने व्यवस्था भयो भने अधिकांशले गाडी किन्न सक्छन्। यसमा सरकारले ध्यान दिनु आवश्यक छ।”
अटोमोबाइल बजारको दीर्घकालीन विकासका लागि स्थिर कर्जा नीति र सरकारको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।