• Tuesday, August 26, 2025

हुथी मिसाइल आक्रमणको जवाफमा इजरायली वायुसेनाद्वारा सानामा हवाई हमला, ४ को मृत्यु ६७ घाइते


एजेन्सी । इजरायली वायुसेनाले आइतबार यमनको राजधानी सानामा तीव्र हवाई आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको र ६७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हुथी विद्रोहीहरूले सञ्चालित अल–मसिरा टेलिभिजनले सानास्थित एक तेल कम्पनीमा आक्रमण भएको दाबी गर्दै आगलागी भएको भिडियो सार्वजनिक गरेको छ।

यो आक्रमण हालै यमनका हूती विद्रोहीहरूले इजरायलमाथि गरेको मिसाइल प्रहारको जवाफमा गरिएको बताइएको छ। शुक्रबार राति पहिलोपटक हूती विद्रोहीहरूले ब्यालिस्टिक मिसाइल इजरायलतर्फ प्रक्षेपण गरेका थिए। मिसाइलको एक टुक्रा इजरायलको गिनातोन सहरको एक घरमा खसेको थियो। उक्त घरमा एक महिला बस्दै आएकी थिइन्, तर उनी शेल्टरमा भएकाले ज्यान जोगाउन सफल भइन्।

प्रतिआक्रमणका क्रममा इजरायलले सानास्थित राष्ट्रपति भवन, एउटा इन्धन भण्डार र दुईवटा विद्युत् उत्पादन केन्द्रलाई लक्षित गरेको दाबी इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गरेको छ। आईडीएफका अनुसार ती विद्युत् केन्द्रहरू हूती लडाकुहरूले सैन्य गतिविधिमा प्रयोग गर्दै आएका थिए।

Please Login to comment in the post!

you may also like