मुस्ताङ, नेपाल – पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको मुस्ताङमा तापक्रम अस्वाभाविक रूपमा बढिरहेको छ। गत जेठ २५ गते मुस्ताङको जोमसोममा ३५ वर्ष यताकै सबैभन्दा बढी तापक्रम २७ डिग्री सेल्सियस मापन भयो। यसअघि २०४६ साल जेठ १५ गते त्यहाँको तापक्रम ३१ डिग्री पुगेको थियो। प्रायः माइनस डिग्रीमा रहने उपल्लो मुस्ताङ लोमाङथाङको तापक्रम पनि १५ डिग्रीभन्दा माथि पुगेको छ।
मुस्ताङको तापक्रम नेपालका अन्य ठाउँको तुलनामा १० गुणा बढीले वृद्धि भएको एक अध्ययनले देखाएको छ। यसले गर्दा यहाँको जनजीवनमा गम्भीर असर परेको छ। मार्फाका स्थानीयवासी कालबहादुर पन्नाचनले विगत चार वर्षदेखि मुस्ताङमा हिउँ नपरेको र सहरमा जस्तै धुम्म तुवाँलो मात्रै लाग्ने गरेको बताए। "हाम्रो लागि मल–पानी भनेकै हिउँ हो," उनले भने, "हिउँ नपरेका कारण विगत चार वर्षदेखि खेतीपाती राम्रो भएको छैन।"हिउँको कमीले मुस्ताङको स्याउ उत्पादनमा पनि ठूलो गिरावट आएको छ। स्थानीयहरूले यसलाई जलवायु परिवर्तनको सीधा असर मानेका छन्। स्याउ उत्पादन क्षेत्र माथि–माथि सर्दै गएको र बेमौसममा हुने वर्षा तथा खडेरीले कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेको छ।
मुस्ताङसहित हिमाली जिल्लाका सांसदहरूले जलवायु संकटबारे पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि यसको नियन्त्रणमा खासै काम हुन सकेको छैन। प्रदेश सांसद विकल शेरचनले गत वर्ष कागबेनीमा आएको बाढीले त्यहाँका बस्ती बगाएको स्मरण गराउँदै यसको समाधानका लागि सबैले मिलेर पहल गर्नुपर्ने बताए।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुस्ताङ पुगेर 'मुस्ताङीले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको' भन्दै ५० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरे पनि त्यो रकम अहिलेसम्म नपुगेको गुनासो स्थानीयको छ।
यही समस्यालाई लिएर मुस्ताङका स्थानीय सरकारहरू आफैँ अग्रसर भएका छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले देशैभरका ७५३ वटै पालिकाका जनप्रतिनिधिलाई भेला गराएर एउटै आवाज उठाउने तयारी गरेको छ। भदौ ३१ गते हुन लागेको यो राष्ट्रिय जलवायु सम्मेलनले जलवायु परिवर्तनका असरबारे साझा धारणा बनाउने र विश्वको ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ।"हिउँ नपर्दा र जमिनमुनिको हिउँ पग्लिँदा पानीका मुहान सुक्दै गएका छन्, जसले खानेपानी र सिँचाइमा समस्या निम्त्याएको छ," गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले भने। उनले अरू ठाउँको प्रदूषणका कारण मुस्ताङमा समेत तुवाँलो लाग्ने र हिमाल देख्न नपाएकोमा दुःख व्यक्त गरे।"हामीले कुनै गल्ती गरेका छैनौँ, तर त्यसको क्षतिपूर्ति माग गर्नुपर्ने अवस्था आएको छ," लालचनले भने, "हाम्रो यो सम्मेलनले विश्व समुदायलाई हामीले भोगिरहेको समस्याबारे जानकारी दिनेछ र हामी हाम्रो हिस्सा माग्नेछौँ।"गाउँपालिकाले प्रदूषण कम गर्नका लागि इलेक्ट्रिक गाडी, इन्डक्सन चुलोको प्रयोग र फोहोर व्यवस्थापनलाई पनि प्रोत्साहन गरिरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले स्थानीय स्तरबाट गर्नुपर्ने सबै काम गरिएको र अब विश्व समुदायको साथ खोजिएको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले समेत नेपालको हिमालय क्षेत्रको चुनौतीलाई नजिकबाट नियालेर कोप बैठकमा यसको चर्चा गरे पनि स्थानीयको जीवनमा खासै परिवर्तन आएको छैन। त्यसैले, अहिले मुस्ताङका स्थानीय निकायहरूले आफ्नै पहलमा यो महत्वपूर्ण कदम चालेका छन्।